मतदान कार्य सम्पन्न

काठमाडौं १६ मंसिर । आज भएको स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूणर् र उत्साहजनकरूपमा सम्पन्न भएको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो । ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार श्री टेकराज भट्टराई र श्री टीका कुमारी चौधरी (भुल)को मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो भने रूकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा न २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार श्री जगत घर्तीको मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो । एक एक जना उम्मेदवारी कायम भएका बाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहनुभएको थियो ।  

मतदान कार्य समाप्त भई मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्वाचन आयोगले निर्देशन दिइएको छ । एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणना हुनेछ ।

प्रतिक्रिया