काठमाडौं ०२ कार्तिक । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो ।
नर्सहरुलाई सम्मान गर्दै कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मानवीय सेवामा समर्पित नर्सहरु सम्मानको हकदार भएको बताउनु भयो । कुनैपनि बिरामी पूर्णरुपमा निको हुन नर्सहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले कलेज परिवार नर्सिङ पेशामा समर्पितहरुको हक अधिकार र सम्मानका लागि सदैव सकारात्मक रहेको बताउनु भयो । ‘तपाईहरुको कारण नै अस्पताल चल्छ । तपाईहरुको सेवाबाट नै बिरामी पूर्ण निको हुन्छन् । मानवीय सेवामा समर्पित तपाईहरु सम्मानको हकदार हुनुहुन्छ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्रीले नर्सिङ सेवालाई मर्यादित, सम्मानीत बनाउँदै लैजानु पर्ने औंल्याउनु भयो । कलेज प्रशासन नर्सिङ सेवालाई प्रभावकारी बनाउन र नर्सिङ क्षेत्रका जनशक्तिहरुको व्यवस्थापनमा सदैव सकारात्मक रहेको बताउनु भयो । मुलुकमा दिनप्रतिदिन दक्ष स्वास्थ्यकर्मी सँगै नर्सहरुको खाँचो बढ्दै गइरहेको भन्दै उहाँले कलेज दक्ष जनशक्ति उत्पादनमा सक्रिय रहेको बताउनुभयो ।
सो अवसरमा कलेजले १० वर्षदेखि नर्सिङ पेशामा सक्रिय स्टाफ नर्सहरुलाई सम्मान गरेको छ । कलेजले १४ जना इन्चार्ज सहित मेट्रोन लगायतलाई समेत सम्मान गरेको छ । बिरामीको रातदिन सेवा गर्न समर्पित नर्सहरुलाई उत्प्रेरणा दिने अभिप्रायले सम्मान गरिएको हो ।
कार्यक्रममा कलेजका नर्सहरुले सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । साथै, नर्सिङ दिवसकै अवसरमा नर्सहरुको तर्फबाट अस्पतालमा उपचाररत करिब १३० जना बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार