साढे ६ किलो सुन बरामद, त्रिभुवन विमानस्थलबाट २ जना विदेशी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका  डिआइजी अर्जुन चन्द ठकुरीले फ्लाइ दुबईको जहाजमा आएका यात्रुको साथबाट गए राति साढे ६ केजी सुन बरामद गरिएको सिएफएन खबर लाई बताए।

‘गए राति ११ बजेर ५१ मिनेटमा फ्लाइ दुबईको जहाज अवतरण भएको थियो। अलिअलि सुराकीको आधारमा हामीले फलो गरेका थियौं,’ उनले भने, ‘राति १२;४५ बजे चेकजाँच गर्दा ज्याकेटमा खल्ती बनाएर छ थान बिस्कुटजस्तो अर्ध ठोस अवस्थाको सुन बरामद गरिएको हो।’

सुन अर्ध ठोस बनाउनुको कारण मेटल डिटेक्टरमा आवाज आउँदैन कि भन्ने रहेको बुझिएको उनले बताए। ‘उक्न सुन ६ किलो पाँच सय ६५ ग्रामको छ,’ उनले भने। सुन बोक्ने व्यक्ति ३२ वर्षीय इजिप्टका नागरिक सेरिफ मोहम्मद मोहम्मद ल्यासिन रहेको डिआइजी चन्दले बताए।

‘ऊसँगै सुडानी नागरिकलाई पक्राउ गरेका छौं। शंकास्पद भएर पक्रेको हो, उसले संलग्नता छैन त भनिरहेको छ, अनुसन्धानबाट खुल्छ।’

बरामद सुन र व्यक्तिलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले शनिबार राति साढे ६ किलो सुन बरामद भएको बताए। यसअघि गत शुक्रबार विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो। सुनसहित गोरखाका चन्द्र घलेलाई प्रहरीले पक्राउ गरेको थियो। दुवै दिन सुन एउटै जहाज (फ्लाइ दुबईको एफजेड ५७३) बाट आएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया