पुष ११ , काठमाडौँ : आज (बिहीवार) साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नेपाल सुपर लिग एनएसएलमा ललितपुर सिटी एफसी फाइनलमा पुगेको छ। दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै ललितपुरले धनगढी एफसीसँग उपाधि भिडन्त पक्का गरेको हो। निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
खेलको पहिलो हाफको इन्जुरी समयमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए तर दोस्रो हाफको ७१ औँ मिनेटमा स्टेफन कोजो एन्नोरले गोल गर्दैै पोखरा थन्डर्सलाई बराबरीमा पुर्याए। थप समयको नवौँ मिनेटमा कुशल देउवाले गोल गर्दै १० खेलाडीमा सीमित ललितपुरलाई पुनः अग्रता दिलाए। फाउल गरेकाले दोहोरो पहेँलो कार्ड खाँदै आयुश घलानले मैदान छाडेपछि खेलको ३३ औँ मिनेटमा ललितपुर १० खेलाडीमा समेटिएको थियो।
अतिरिक्त समयमा देउवाले गरेको गोल नै निर्णायक बन्यो। आजको विजेता ललितपुरले धनगढी एफसीसँग शनिवार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेता टोलीले २० लाख रुपैयाँ नगद पाउनेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार