चलचित्र जनै हराएको बाहुन को शुभमुहूर्त

काठमाडौं चैत २६ । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । भोलिबाट चलचित्रको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । यसअघि यो चलचित्रको स्क्रिप्ट पूजा पनि गरिएको थियो । ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । ‘जनै हराएको बाहुन’मा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ । निर्माण टिमका अनुसार भोलि काभ्रेपलान्चोकको पनौतीबाट चलचित्रको छायांकन सुरु हुनेछ । पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ ।‘जनै हराएको बाहुन’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा हुने बताइएको छ ।

प्रतिक्रिया