१३ प्रतिशत बोनस र लाभांस दिने प्रस्ताव पारितसहित नागरिक लगानी कोषको साधारणसभा सम्पन्न
काठमाडौं २९ पौष । नागरिक लगानी कोषको साधारणसभा १३ प्रतिशत बोनस र लाभांस दिने प्रस्ताव पारितसहित सम्पन्न भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको ३० औं साधारण सभाले आर्थिक वर्ष २०८०÷८१ को आम्दानी बाँडफाँड हिसाव विवरण छुट्याएको र सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस –कर सहित)– स्वीकृत गरेको हो ।
त्यसैगरी आ.व २०८०÷८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो । सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.थापाले कोषको कार्यक्रमहरूको थप प्रवद्र्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताउनुभयो । कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने जानकारी दिनुभयो । संगठन तथा व्यवस्थापन –ओ एण्ड एम) गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिने समेत उहाँले बताउनुभयो । प्रा.डा.थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको धारणा राख्नुभयो ।
साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञाशाहरुको बारेमा अध्यक्ष प्रा.डा.थापा र कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले जवाफ दिनु भएको थियो ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक कार्कीले कोषको वस्तुस्थिति बारे बताउँदै सेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा सुझावहरूको बारेमा विस्तृत रुपमा जानकारी गराउनुभयो । कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृत्रिम बौद्धिकता –ए.आई) को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।
हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांस दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीको भनाई थियो । साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०÷८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको र उक्त अवधिमा कोषले २ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको कोषको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार