काठमाडौँ १४ कार्तिक । मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदयलाई राजनीतिक आरक्षणका लागि माग गरेको छ । राजनीतिक दलहरूमा कम्तीमा २ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग मायाको पहिचान नेपालले गरेको हो । नेपालमा पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गराउन सफल मायाको पहिचान नेपाल विभेदकारी निर्वाचन ऐन तत्काल संशोधन गरेर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गर्न समेत माग गरेको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षण नभए अगाडी आउन गाह्रो रहेको संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए । राजनीतिक दलहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेशी गराएको पाइँदैन । निर्वाचन खर्चिलो बनेको छ,पन्तले भने, खर्चिलो चुनावमा आउन गाह्रो छ, कम्तीमा २ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । मायाको पहिचान नेपालले राजनीतिक दलहरू, सरकारी निकाय, संवैधानिक निकाय एवं सरोकारवाला पक्षसँग बुधवार गरेको संयुक्त छलफल कार्यक्रममा पन्तले देशभरका ७५३ स्थानीय तहको वडा सदस्यमा समेत समुदायबाट एक जनाको प्रतिनिधित्व नभएकोमा दुःख व्यक्त गरेका थिए । क्वेयर नेपालका अध्यक्ष विवेक मगरले सदस्यता दिएर मात्र न्याय नहुने बताए। उनले राजनीतिक दलहरूलाई अगाडी आएर साक्षरता दिन आग्रह गरे। सुरक्षित महसुस गराउनु पर्छ,भोट बैङ्कको रूपमा मात्रै नसोचिदिनु होला,उनले भने,समानताका लागि काम गर्दा जनसङ्ख्या चाहिँदैन। समर्पण सभ्य समाज नेपालका सचिव समेत रहेका तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि)ले चुनाव प्रचार प्रसारमा सहभागी गराएर हाँसोको पात्र मात्रै नबनाउन दलहरूसँग आग्रह गरे । बजेट विनियोजन समेत गरिँदैन,उनले भने,राजनीति दलहरूले साथ दिनु पर्छ,चुनाव प्रचारप्रसारमा नचाउन मात्रै प्रयोग नगरिदिनुहोला, अनुरोध छ । जनता समाजवादी पार्टी नेपालका विद्युत् बज्राचार्य, नेकपा एकीकृत समाजवादीका भवानी खड्का, वैज्ञानिक समाजवादी पार्टीका सुवास पाण्डे लगायतका राजनीतिक दलका नेताहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वका लागि आवाज उठाउने प्रतिबद्धता जनाए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार