शान्ति सुरक्षाका निम्ति गोकर्णेश्वर नगरपालिकाले बोलायो आकस्मिक बैठक

 काठमाडौं २६ भाद्र । गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन विषेस वैठकको आव्हान गरेको छ । देशको विसम परिस्थितिमा हिजो हिजो अकल्पनिय घटनाबाट गोकर्णेश्वर नगरपालिका वडा नं ५,६,७ को वडा कार्यालयमा समेत जेन्जीको नाममा अज्ञात समूहले आगो लगाइदिएको थियो ।  उक्त वडाहरु आगलागी भै ध्वस्त भएका छन् । वडा नं १ र ३ तोडफोड भएको छ । साथै नगरपालिका भित्र भएका सम्पूर्ण प्रहरी कार्यालय र केही स्वास्थ्य चौकीमा समेत तोडफोड भएको छ ।  वडा कार्यालय र प्रहरी चौकीबाट धेरै सामानहरू चोरी लुटपाट भएको छ । यही अवस्थालाई ध्यानमा राखी नगरपालिकाले नगर प्रमुख, उपप्रमुख, सबै वडा अध्यक्ष , सदस्यहरू, नेपाल आर्मीका कर्णेल २ जना, मेजर १ जना,  नेपाल प्रहरीका डिएस्पी, नगर प्रहरी, ग्रीन आर्मी नेपाल, गोकर्णेश्वर नगर स्काउट, युवा तथा खेलकुद समिति, नगर स्वास्थ्य प्रमुख, नगर अस्पताल प्रमुख सहितको आकस्मिक बैठक डाकेको हो । 

नगरपाकिाले निम्न विषयमा आधारित रहेर छलफल र निष्कर्ष निकाल्ने जनाएको छ । 

१.सबै भन्दा पहिले नगरवासीको थप शान्ति सुरक्षाको लागि नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी, ग्रीन आर्मी, स्काउट, युवा तथा खेलकुद समितिका युवाहरु लगायत हरेक वडामा वडा अध्यक्षको पहलमा युवाहरुलाई परिचालन गरी थप शान्ति सुरक्षा को लागि अगाडि बढाइने छ ।

२. नगरपालिकाले सुरक्षाको लागि नगर प्रहरीको २ वटा गाडी, स्काउटको  १ वटा गाडी ग्रीन आर्मी १ वटा गाडी टोलटोलमा जाने छन् र जनताको सुरक्षामा पेट्रोलिङ गर्ने छन् । 

३. नगरपालिका भरी भएका सम्पूर्ण सिसी क्यामराबाट निगरानी गरिने साथै मर्मत गर्नुपर्ने सिसी क्यामेरा पनि मर्मत गरी थप निगरानी गरिने भएको छ । 

४. ध्वस्त भएका नगरपालिकाको भौतिक संरचनाको सरसफाइ, पुन निर्माणको कार्य अगाडि बढाउने, नगरपालिका र वडाबाट हुने सेवा पनि सकेसम्म चाँडो सुचारु गर्ने  भएको छ । साथै आकस्मिक सेवाको लागि वडा कार्यालय र नगरपालिकामा सम्पर्क गर्न सकिने छ ।

५. घरबाहलमा बस्ने सम्पूर्णको नागरिकको घरबेटिले नाम सहितको निगरानी राख्नु पर्ने ।

६. वडा भित्र रहेका युवा क्लब, टोल सुधार समिति, महिला समूह, अन्य संघ संस्थालाई वडा अध्यक्षहरुले समन्यवन गरी आवश्यकता अनुसार शान्ति सुरक्षाका लागि आह्वान गर्ने छन् ।

७. नगरभित्रका सम्पूर्ण ब्यवसाय, पसलहरु बेलाका ८ बजे सम्म मात्र सञ्चालन गर्नु पर्ने छ ।

८. गोकर्णेश्वर नगर अस्पताल,  नगर भित्रको सबै अस्पताल नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, अर्थोपेडिक अस्पतालहरु २४ घण्टा सञ्चालनमा रहने छन् । 

प्रतिक्रिया